News

१०औँ समर कपबाट संकलित रकम प्राकृतिक विपद्का पीडितलाई सहयोग गरिने


१०औँ समर कपबाट संकलित रकम प्राकृतिक विपद्का पीडितलाई सहयोग गरिने

फुकुओका, जापान । नेपालमा हालै आएको प्राकृतिक विपद्का कारण प्रभावित तथा पीडित नागरिकको सहयोगका लागि जापानमा रहेको श्री गणेश खुकुरी एफ.सी. ले महत्वपूर्ण निर्णय गरेको छ।

क्लबले आयोजना गर्न लागेको १०औँ समर कप २०२६ बाट संकलन हुने रकममध्येबाट नेपालमा प्राकृतिक विपद् बाट प्रभावित नागरिकहरूलाई सहयोग गर्ने भएको हो। क्लबले खेलकुदसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै प्रतियोगिताबाट प्राप्त रकम मानवीय सहयोगमा प्रयोग गर्ने जनाएको छ।

नेपालको रसुवास्थित भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा त्यसबाट प्रभावित अन्य क्षेत्रका नागरिकप्रति दुःख व्यक्त गर्दै क्लबले पीडित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले उक्त निर्णय गरेको हो।

श्री गणेश खुकुरी एफ.सी. ले विगतदेखि नै खेलकुदका माध्यमबाट नेपाली समुदायलाई जोड्दै सामाजिक कार्यमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। १०औँ समर कपलाई पनि खेलकुद प्रतियोगितासँगै सामाजिक सेवासँग जोडेर अघि बढाउने क्लबको प्रयासले प्रवासमा रहेका नेपाली समुदायमा सकारात्मक सन्देश दिएको छ।

क्लबका अनुसार प्रतियोगिताका क्रममा Donation Box समेत राखिनेछ। प्रतियोगिताबाट संकलित रकमलाई प्राकृतिक विपद्बाट प्रभावित नेपालीहरूको राहत तथा पुनःस्थापनाका लागि सहयोग गरिनेछ।

क्लबले “खेलसँगै मानवताको हात पनि बढाऔँ” भन्ने भावनासहित १०औँ समर कपलाई खेलकुद, एकता र सामाजिक सेवाको संगम बनाउने प्रयास गरेको छ।

१०औँ समर कप २०२६ सम्बन्धी क्लबको सार्वजनिक जानकारीमा पनि प्रतियोगिता पुनः आयोजना गर्न लागिएको उल्लेख छ।