साबित्रा भण्डारीको घुँडाको शल्यक्रिया न्युजिल्यान्डमा सफल, समर्थकप्रति आभार व्यक्त
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार फरवार्ड साबित्रा भण्डारी ‘साम्बा’ ले न्युजिल्यान्डमा गरिएको घुँडाको शल्यक्रिया सफल भएको जानकारी सार्वजनिक गरेकी छन्। उनले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत स्वास्थ्य अवस्थाबारे अपडेट दिँदै शल्यक्रिया सकारात्मक रूपमा सम्पन्न भएको बताएकी हुन्।
साबित्राले प्रारम्भिक रूपमा शल्यक्रिया कतारको एस्पेटार (Aspetar) अस्पतालमै गर्ने योजना बनाएकी थिइन्। उपचार खर्चका लागि उनले सहयोगको अपिल गरेपछि देश–विदेशका समर्थकबाट छोटो समयमै आवश्यक रकम जुटेको थियो। तर, खाडी क्षेत्रको पछिल्लो अवस्थालाई ध्यानमा राख्दै चिकित्सकको सिफारिसअनुसार उनले न्युजिल्यान्डमै शल्यक्रिया गराउने निर्णय लिएकी थिइन्।
उनका अनुसार एस्पेटारका विशेषज्ञहरूले नै न्युजिल्यान्डमा उपलब्ध विशेषज्ञ टोलीबाट शल्यक्रिया गराउन सुझाव दिएका थिए। शल्यक्रिया सफल भएपछि उनले पुनर्स्थापना (rehabilitation) प्रक्रिया पनि न्युजिल्यान्डमै सुरु गर्ने बताएकी छन्। स्वास्थ्य अवस्था स्थिर भएपछि भने उनी रिह्याबका केही चरण पूरा गर्न एस्पेटार जाने योजना रहेको उल्लेख गरेकी छन्।
साबित्राले आफ्नो क्लब वेलिङटन फिनिक्स, व्यवस्थापन टोली, समर्थक तथा शुभेच्छुकप्रति विशेष धन्यवाद व्यक्त गर्दै आफूलाई दिएको साथ र हौसलाले मनोबल बढाएको बताएकी छन्। उनले छिट्टै मैदानमा फर्कने लक्ष्य दोहोर्याउँदै निरन्तर समर्थनका लागि सबैप्रति कृतज्ञता व्यक्त गरेकी छन्।
